ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ आश्विन ९, शनिबार
गृहपृष्ठ खेलकुद ५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

५३ वर्षपछि ओलम्पिकमा नेपाललाई पदक

 काठमाडौँ । ३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारबाट जापानको टोकियोमा शुरू भएको छ। सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो। ​अहिलेपनि कोरोना महामारीको खतरा नघटेकाले टोकियो ओलम्पिकका खेल दर्शकबिना नै खेलाइँदैछ।

औपचारिक उद्घाटन बिना नै गत बुधबारबाट नै फूटबल र सफ्टबलका स्पर्धाहरू शुरू भइसकेका छन्।

यसअघि सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि ओलम्पिकको पुनः आयोजना गरेको हो। यो ओलम्पिकसँगै चौथोपटक एशियाली भूमिमा ओलम्पिक आयोजना भएको छ। सन् २००८ मा चीनको बेइजिङ, सन् १९६४ मा जापानकै टोकियो र १९८८ मा दक्षिण कोरियाको सियोलमा ओलम्पिक आयोजना गरिएको थियो।

टोकियो ओलम्पिकमा पाँच नयाँ खेल समावेश गरिएको छ। सर्फिङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र कराते खेललाई पहिलोपटक ओलम्पिकमा सहभागी गराइएको छ। सन् २००८ को बेइजिङ ओलम्पिकपछि पहिलो ओलम्पिकमा बेसबल र सफ्टबलले फेरि स्थान पाएका हुन्।

साउन २४ गतेसम्म चल्ने ओलम्पिकमा कुल ३३ खेलका प्रतिष्पर्धा हुनेछ। जसमा विभिन्न ५० विधाको खेल समावेश छन् भने कुल ३३९ इभेन्टमा प्रतिष्पर्धा गराइनेछ।

कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको टोकियो ओलम्पिकलाई टोकियो ओलम्पिक–२०२० नै नाम दिइएको छ।
यसअघि ओलम्पिकको लामो इतिहासमा ५ वर्षअघि पहिलोपटक दक्षिण अमेरिकी भूमिमा ओलम्पिक भएको थियो। ब्राजिलको रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकपछि नियमित ४ वर्षमा हुनुपर्ने ओलम्पिक कोरोना भाइरसको जोखिमका कारण एक वर्ष पछि भएको हो।

कोरोनाकै डरले अफ्रिकी मुलुक गिनीले अन्तिम समयमा आएर टोकियो ओलम्पिकबाट आफ्नो हात झिक्यो। गिनीका जसमा पौडीबाट दुई तथा एथ्लेटिक्स, जुडो र रेस्टलिङबाट १–१ खेलाडीले प्रतिष्पर्धा गर्दै थिए। ओलम्पिक भिलेजमा कोरोना संक्रमित भेटिएको खबरले पनि चर्चा पाइरहेको छ।

ओलम्पिकमा नेपाली इतिहास

कोनस र जियस नाम गरेका दुई देवताहरूले पृथ्वीको ओलम्पस पर्वतमा युद्ध गर्दा जियसको जित भएपछि उनको विजयलाई मनाउने, महोत्सवको रूपमा ओलम्पिक खेलको शुरूवात, ग्रीसले गरेको भनाइ चल्दै आएको छ।

सन् १८९६ देखि शुरू भएको आधुनिक ओलम्पिकको १५ औँ संस्करणबाट नेपालको सहभागिता शुरू भएको हो। १९५२ मा १५ औँ हेलसिन्की ओलम्पिक र सन् १९६० को १७ औँ रोम ओलम्पिक नेपालको सहभागिता शुरूवाती रहे। जसमा नेपालले पर्यवेक्षकको रूपमा सहभागिता जनायो।

आधिकारीक रूपमा भने नेपालले सन् १९६४ मा जापानमा सम्पन्न १८ औँ ओलम्पिकमा सहभागिता जनाउने अवसर पायो। त्यसबेला नेपालले एथ्लेटिक्स र बक्सिङमा भाग लिएको थियो। भाग त लियो, तर, उक्त ओलम्पिकमा नेपालले कुनै राम्रो प्रदर्शन गर्न सकेन। म्याराथनमा ललितपुर गोदावरी भुपेन्द्र सिल्वाल र फर्पिङका गंगाबहादुर थापाले भाग लिएका थिए। थापाको भने २०६८ साल माघ १२ गते निधन भइसकेको छ।

१९६८ मा मेक्सिकोमा सम्पन्न १९ औँ संस्करण आएर नेपालले भाग लिएन। सन् १९७२ मा जर्मनीको म्युनिख ओलम्पिकमा फेरि नेपाल फर्कियो। २० औँ संस्करणको म्युनिख ओलम्पिकमा नेपालले एउटा मात्र खेल एथ्लेटिक्समा भाग लियो।

नेपालका जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले संस्करणमा सहभागिता जनाए। यो ओलम्पिक नेपालको लागि केही स्मरणीय रह्यो। नेपालका जीतबहादुर केसी दौडमा १९ किलोमिटरसम्म अग्रस्थानमा रहेका थिए तर, दुर्भाग्य उनको खुट्टाको मांशपेशी फर्किएपछि र उनले खेल परित्याग गरे। केसीसँगै प्रतिष्पर्धामा उत्रिएका सापकोटाले भने ६० औँ स्थान हात पारे। केसीलाई त्यहाँको टेलिभिजनले सम्भावित स्वर्ण पदक विजेताका रूपमा हेरिसकेको थियो।

२१ औँ संस्करणको क्यानडाको मेन्ट्रियल ओलम्पिकमा नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालको प्रतिनिधित्व गरे, ष्पर्धामा उनी ५० औँ भए। यसपछि नेपालले लगातार रसियाको मस्कोमा सम्पन्न २२ औँ र सन् १९८४ मा अमेरिकाको लस एञ्‍जल्समा सम्पन्न २३ औँ ओलम्पिकमा कुल ३ खेलमा भाग लियो।

एथ्लेटिक्स, बक्सिङ र भारोत्तोलनमा सहभागिता जनाएपनि पदकको सपना भने अधुरै राख्यो। सो ओलम्पिकमा नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालको प्रतिनिधित्व लगातार तेस्रो पटक गर्न सफल भए।

सन् १९८८ को २४ औँ कोरियाको सियोल ओलम्पिक नेपालका लागि सुखद रह्यो।
पहिलोपटक समावेश गरिएको तेक्वान्दो खेलमार्फत नेपालका विधान लामाले पदक दिलाए। त्यतिबेला तेक्वान्दोलाई प्रदर्शन खेलका रूपमा मात्र लिएको हुँदा पदक गणना भने भएन। यो संस्करणमा नेपालले तेक्वान्दो अतिरिक्त एथ्लेटिक्स, बक्सिङ, जुडो र सुटिङमा भाग लिएको थियो। यो ओलम्पिकमा पनि नेपाली धावक बैकुण्ठ मानन्धरले सहभागिता जनाएका थिए।

सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औँ ओलम्पिकमा ३ खेलमा ५ खेलाडी पठायो। सो ओलम्पिकमा तेक्वान्दो, सुटिङ र एथ्लेटिक्समा नेपालले भाग लिएको थियो। एथ्लेटिक्समा हरिबहादुर रोकाए र सुटिङमा अनिता श्रेष्ठ सहभागी हुँदा तेक्वान्दोबाट नारायण गुरुङ, प्रमिला थापा र सीता राई प्रतिष्पर्धामा उत्रिए।

त्यसपछि नेपालले १९९६ को एटलान्टा ओलम्पिकको २६ औँ अध्यायमा एथ्लेटिक्स, पौडी र सुटिङमा तथा २००० को २७ औँ सिड्नी ओलम्पिकमा पनि सोही खेलमा सहभागिता जनायो। तर, पदकको आशा मात्र रह्यो।

१९९६ को ओलम्पिकमा एथ्लेटिक्सतर्फ विमला राना मगर र टीका बोगटीले भाग लिए भने सीताराम शाही र निस्मा गुरुङले पौडीमा सहभागी हुँदा भारोत्तोलनमा सुनीललाल जोशी र सुटिङमा विवाहश्वरी राई प्रतिष्पर्धामा उत्रिएपनि पदकको झोली रित्तो रह्यो।

सिड्नी ओलम्पिकमा एथ्लेटिक्सतर्फ ज्ञानबहादुर बोहरा र देवीमाया पनेरू तथा पौडीमा रुना प्रधान र चित्रबहादुर केसीले भाग लिँदा सुटिङमा भगवती केसीले सहभागिता जनाइन्।

सन् २००४ मा आएर एथेन्स ओलम्पिकमा नेपालले अघिल्लो भन्दा एक खेल थप्यो, त्यो तेक्वान्दोमा। तेक्वान्दोमा भाग लिइन्, संगीना वैद्यले तर, उनी पहिलो चरणबाटै बाहिरिइन्। एथ्लेटिक्समा कान्छीमाया कोजु र राजेन्द्र भण्डारी तथा पौडीमा नयना शाक्य र एलिस श्रेष्ठले भाग लिए। सुटिङमा टीकाराम श्रेष्ठले प्रतिष्पर्धा गरेका थिए।

ओलम्पिकमा करिब ४० वर्षे इतिहास बोकेको नेपालले अहिलेसम्म १ कास्य जित्नुसिवाय कुनै उपलब्धि हासिल गर्न सकेको छैन। त्यतिबेला तेक्वान्दो खेललाई डेमोन्सट्रेसन खेलका रूपमा लिइएको हुँदा पदक गणना भने भएन।

सन् २००८ को बेइजिङमा भएको ओलम्पिक पनि नेपालका लागि उपलब्धिमूलक रहेन। त्यो ओलम्पिकमा नेपालले तेक्वान्दो, सुटिङ, पौडी, एथ्लेटिक्स, जुडो र भारोत्तोलनमा भाग लिएको थियो।

विगतमा भएका अन्य प्रतियोगितामा पदक ल्याएको तेक्वान्दो खेलमा लगातार आठौँ, नवौँ र दशौँ दक्षीण एसियाली खेलकुदमा स्वर्ण पदक ल्याएका विजेता तेक्वान्दोका दीपक विष्टले बेइजिङ ओलम्पिकमा पदक ल्याउन सकेनन्। त्यसैगरी सुटिङ खेलाडी फूलमाया क्यापछाकी र जुडोकी देवु थापाको सहभागिताले पनि पदक आशा पूरा भएन।

क्यापछाकीले यसअघि १५ औँ एसियाडमा सहभागिता जनाएकी थिइन्‌। भारोत्तलनका कमलबहादुर अधिकारीले पनि कुनै राम्रो प्रदर्शन गर्न सकेनन्। पौडीका करिश्मा कार्की र प्रसिद्धजंग शाहले पनि जादु देखाउन सकेनन्। एथ्लेटिक्समा अर्जुन बस्नेत र चन्द्रकला थापाले भाग लिएकी थिइन्।

सन् २०१२ मा भएको, ३० औँ ग्रीष्मकालीन ओलम्पिकमा यसपाली नेपालले कुल ३ खेलमा प्रतिष्पर्धा गरेको थियो। यो लन्डन ओलम्पिकमा नेपालले पौडी, एथ्लेटिक्स र सुटिङमा प्रतिष्पर्धा ग¥यो। नेपालले सुटिङमा मात्र वाइल्ड कार्ड पाएको थियो। यो पटकको यात्रामा पनि खासै केही प्रगति भएन। सहभागितामै चित्त बुझाउँदै पाँच खेलाडी हिट् चरणबाटै बाहिरिए।

लन्डन ओलम्पिकमा अन्तिम प्रतिस्पर्धी १०० मिटर दौडमा तिलकराम थारूले निर्धारित दूरी १० दशमलव आठ पाँच सेकेन्डमा पूरा गर्दै व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन्। रामकृष्ण चौधरीको नाममा १० दशमलव सात एक सेकेन्डको कीर्तिमान तोड्ने लक्ष्यका साथ ट्रयाकमा उत्रिएका थारूले आफ्नो व्यक्तिगत ११ सेकेन्डको प्रदर्शनमा सुधार मात्र ल्याउन सकेका हुन्।

हिट् चरणबाटै बाहिरिएका थारूले कूल २९ सहभागीमध्ये १३ औं स्थान ओगटेका छन् लण्डन ओलम्पिकमा हिट् चरणबाटै बाहिरिए पनि १०० मिटर फ्रिस्टाइल पौडीमा श्रेया धितालले मात्र नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सकिन्।

५० मिटर फ्रिस्टाइल पुरुष पौडीमा प्रसिद्धजंग शाहले व्यक्तिगत प्रदर्शनमा सुधार ल्याए। तर, १०० मिटर दौडमा प्रमिला रिजालले र सुटिङ्गको १० मिटर एयर राइफलमा स्नेहा राणाले व्यक्तिगत प्रदर्शनमा समेत सुधार ल्याउन सकेनन्। पौडीवाज शाहले दोस्रो पटक ओलम्पिकमा भाग लिएका थिए।

सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको ३१ औँ ओलम्पिकमा ७ जना नेपाली खेलाडीले प्रतिष्पर्धा गरे। एथ्लेटिक्स खेलाडीहरू हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरू शिरीष गुरुङ र गौरीका सिंह, जुडोकी फुपुल्यामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले भाग लिएका थिए।

तीमध्ये पौडीबाज शिरीष गुरुङले राष्ट्रिय कीर्तिमान बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन। यद्यपी; सो ओलम्पिककी कान्छी खेलाडी नेपाली पौडीबाज गौरीका सिंह र तेक्वान्दोकी निशा रावल चर्चामा रहेका थिए।

वर्तमान टोकियो ओलम्पिकमा नेपालले एथ्लेटिक्स, पौडी, सुटिङ र जुडोमा प्रतिष्पर्धा गर्दैछ।
पौडी र एथलेटिक्सका खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् भने सुटिङ र जुडोका खेलाडीले भने वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन्।

नेपालबाट पौडीका गौरीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिष्पर्धा गर्दैछन्। गौरीकाले महिला १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिष्पर्धा गर्नेछन्। कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिष्पर्धा गर्नेछन्।

सुटिङकी कल्पना टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन्। जुडो खेलाडी भट्टले पहिलो खेलमा रसियन खेलाडी डोल्गाभा इरिनासँग ४८ केजी तौल समूहमा प्रतिष्पर्धासँग प्रतिष्पर्धा गर्दैछिन्। अघिल्लो ओलम्पिकमा कान्छि खेलाडीको रूपमा रहेकी गौरीकाले यसपालि पनि प्रतिष्पर्धा गर्दैछिन्। बेलायतमा बसोबास गर्ने गौरीका सिंहले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समेत ४ स्वर्ण जितेका थिइन्‌। थाहा खबरबाट

 

ताजा समाचार

कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका...

कञ्चनपुरमा कुपोषित बालबालिकाको तथ्यांक संकलनः दुई महिनामा ६ सयमा भेट्टियो कुपोषण

ऐश्वर्या कुवँर । कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना बालबालिकाहरु...

कञ्चनपुरमा कुपोषित बालबालिकाको खोजि द्रुत गतिमा अगाडि बढ्दै

ऐश्वर्या कुवँर महेन्द्रनगर ।कञ्चनपुरमा कुपोषण बालबालिकाको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षणमा साउँन र भाद्र महिनामा ६ सय दुई जना...

कोरोनाका कारण सवारी साधनको लिलाम खुल्न नसकेको कञ्चनपुर भन्सार कार्यालयको दाबी

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुमा चोरी पैठारी लगायतका विभिन्न मुद्धाहरुमा पक्राउ परेका सवारी साधनको (मोटरसाइकल÷जीप,कार) लिलाम प्रक्रिया अगाडी बढ्न सकेको छैन् । उक्त सवारी साधनहरुको...