ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ बैशाख २८, मंगलवार
गृहपृष्ठ राजनीति प्रहरीका २८७ युनिटको नाम हेरफेर

प्रहरीका २८७ युनिटको नाम हेरफेर

काठमाडौँ — सरकारले नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम हेरफेर गरिएको हो।

हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम ‘नेपाल प्रहरी प्रधान कार्यालय’ बनाइएको छ। उपत्यकास्थित सबै प्रहरी युनिटको नाम अघि रहेका ‘महानगरीय’ शब्द झिकिएको छ।उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालयलाई ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय’ बनाइएको छ।

महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नामकरण गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको नाम जिल्ला प्रहरी परिसर कायम भएको छ।

उपत्यकाभित्रका वृत्त, प्रभाग र बेसका अघि रहेको महानगरीय शब्द पनि हटाइएको छ। जस्तै महानगरीय प्रहरी वृत्त सिंहदरबारको सट्टा प्रहरी वृत्त सिंहदरबार रहनेछ अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय राखिएको छ।

महानगरीय सशस्त्र प्रहरी गणलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नामकरण गरिएको छ। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गरे पनि हेरफेर भएका प्रहरी युनिटहरूको नाम सार्वजनिक गरिएको थिएन। कान्तिपुरलाई प्राप्त विवरणअनुसार देशभर नेपाल प्रहरी मातहत २ सयभन्दा बढी युनिट राखिएका छन्।

उपत्यकाका तीन जिल्लाबाहेक ७४ जिल्ला प्रहरी कार्यालय र थप ८७ अन्य युनिट प्रदेश प्रहरीको कमान्ड÷कन्ट्रोलमा रहनेछन्।प्रधान कार्यालयका केही युनिटलाई नेतृत्व गर्ने अधिकृतको दर्जागत तहसहित हेरफेर गरिएको छ। केही महाशाखालाई निर्देशनालय र केहीलाई शाखामा झारिएको छ।

देशभर भएका अपराध अनुसन्धान तथा नियन्त्रण र त्यसअनुसार रणनीतिक तय गर्न हेडक्वार्टरमा प्रदेश अपराध समन्वय शाखा स्थापना गरिएको छ। यसअघि यो युनिट अपराध अनुसन्धान महाशाखाका रूपमा क्रियाशील थियो। प्रदेश प्रहरी कार्यालयअन्तर्गतका केही महत्त्वपूर्ण कार्यालय नेपाल प्रहरी मातहत ल्याइएको छ।

सातवटै प्रदेशस्थित विभिन्न गण÷गुल्म र प्रदेश ट्राफिक कार्यालयको नाम परिवर्तनसहित प्रधान कार्यालयअन्तर्गत ल्याइएको छ। प्रदेश प्रहरी मातहत रहेका महत्त्वपूर्ण गण÷गुल्म पनि नेपाल प्रहरी मातहत ल्याइएको छ।

नेपाल प्रहरीअन्तर्गत ल्याइएका राजमार्ग सुरक्षा तथा ट्राफिकसँग समन्वय गर्न प्रधान कार्यालयमा महाशाखा स्थापना गरिएको छ।देशभरका प्रदेश दंगा नियन्त्रण प्रहरी गण र अनाश्रित सशस्त्र प्रहरी गुल्मलाई क्रमशः नेपाल प्रहरी विशेष सुरक्षा गण र नेपाल प्रहरी अनाश्रित गुल्म नामकरण गरिएको छ।

सातवटै प्रदेशका यी संरचना नेपाल प्रहरी मातहत आएका छन्। संघीय इकाई प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रदेश कार्यालय बनाइएको छ । असातवटै प्रदेशस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बनाइएको छ।प्रदेश प्रहरी मातहत रहेका सातवटै ट्राफिक प्रहरी यससँगै संघ सरकार मातहत आएका छन्।

भारत र चीनतर्फका सीमा क्षेत्रमा तैनाथ ६६ सीमा प्रहरी चौकीलाई स्तरोन्नति गरी प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालयका रूपमा विकास गरिएको छ। वि.सं. २०३० को दशकमा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीका युनिटलाई सीमा प्रहरी चौकीमा बिस्तार गरिएको थियो ।

इलाका प्रहरी कार्यालयमा स्तरोन्नतिसँगै त्यसलाई सीमा अपराध अनुसन्धानमा क्रियाशील बनाइने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सीमा सुरक्षाका लागि सशस्त्रले निरीक्षकको कमान्डमा २ सय ५ सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ गराएको छ।

प्रहरी चौकी स्तरोन्नतिसँगै सीमा क्षेत्रमा खटिने प्रहरी र सशस्त्रको दर्जागत नेतृत्व समान भएको छ। यसअघि सीमा प्रहरी चौकी प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा थियो। स्तरोन्नति गरिएका यी युनिटमा जनशक्ति बढाउँदै लगिने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।

उनले नयाँ ओएन्डएम सर्वेक्षण प्रतिवेदनअनुसार नै जनशक्तिको सरुवा तथा पदस्थापना भएको बताए ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १२ मा उपत्यकाको समग्र शान्तिसुरक्षा तथा अपराध अनुसन्धान÷नियन्त्रणको जिम्मा नेपाल प्रहरी मातहत रहने गरी प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।अध्यादेशअघि उपत्यकाको सुरक्षा व्यवस्थापन प्रदेश (वाग्मती प्रदेश) प्रहरीबाट हुने उल्लेख थियो। त्यसको करिब डेढ महिनापछि ओएन्डएम सर्वेक्षण प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएको थियो ।

 

ताजा समाचार

संक्रमणको बेला दोधारा चाँदनीका स्वास्थ्यकर्मीहरु (फोटो फिचर)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...

दोधारा चाँदनीमा कोरोना संक्रमण : एकै दिनमा ३८ जनामा पोजिटिभ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना...

दोधारा चाँदनीमा तस्करलाई तह लगाउदै नेपाल प्रहरी : ब्राउन सुगर सहित २ जना पक्राउ

दोधारा । अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन...

दिनरात संक्रमितको उपचारमा खटिदै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा. चौधरी (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् ।...
Copy link
Powered by Social Snap